काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीयता र संविधानविरोधी केपी ओलीले प्रदेशसभा पनि विघटन गर्न खोजेकाे आरोप लगाएकी छन्।
बागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले सञ्चारकर्मीसँग भनिन्, ‘केपी ओली संघीयता र संविधान विरोधी हुन्। उनी प्रदेशसभा पनि विघटन गर्न खोज्दै छन्।’
ओली निरंकुश र तानाशाह शासक बन्न लागेको उनको भनाइ छ। उनले भनिन्, ‘ओली प्रदेश सभा विघटन गर्ने सोचाइमा छन्। तानाशाही शासक बन्न खोज्दै छन्। उनीसँग कम्युनिस्ट चरित्र छँदै छैन।’
नेत्री शाक्यले ओलीले संविधान कुल्चेर सबैमाथि प्रहार गरेको भन्दै बलिदानबाट आएको गणतन्त्र र संविधानलाई कुल्चने अधिकार कसैलाई नरहेको बताइन्।
उनले ओलीको कदमविरुद्ध अब प्रदेश, गाउँ, नगर र वडासम्म आन्दोलन गरिने बताइन्।
शाक्यले निर्वाचन आयोगले दाहाल–नेपाल समूहलाई वैधानिकता नदिने कुनै आधार नरहेको बताइन्।
उनले भनिन्, ‘वैधानिकता नदिने कुनै कारण छैन। कानुन र तथ्यका आधारमा निर्णय गर्दा हामीलाई वैधानिकता दिनैपर्छ।’
लोकतन्त्र सुदृढीकरण र संविधान संरक्षणका लागि पनि वैधानिकता प्राप्त हुने उनको भनाइ छ।
ओलीले केन्द्रीय सस्दय बन्नुपर्ने मापदण्ड नै ख्याल नगरी आफ्ना मान्छे थुपारेर संख्या मात्र बढाएको शाक्यको भनाइ छ।