काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदै छ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।
रिटमा अन्तरिम आदेश दिने वा नदिने तथा खारेज गर्ने विषयमा आजै टुंगो लाग्न सक्नेछ।
प्रतिनिधिसभा पुनर्स्थपना माग गर्दै सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका थिए।
बुधबार १२ वटा रिट नेवदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो
संसद् विघटन असंवैधानिक भन्दै नेकपाका सांसदहरुले पनि रिट दायर गरेका छन्। रिट दर्ता गर्नेमा देव गुरुङ, कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री छन्।
रिटमा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन्।