काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।
हालसम्म परेका १३ वटा रिटको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ गर्न लागिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाइ भएको थियो। प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाले सबै रिटलाई संवैधानिक इजलाशमा पठाउने आदेश दिएका थिए ।
प्रधानन्यायाधीश राणाको एकल इजलासबाट आएका १२ सहित संवैधानिक इजलासमै परेको अर्को एउटा रिटको समेत सुनुवाइ हुन लागेको हो।
यसअघि बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले बहस गरेका थिए।
संसद विघटन असंवैधानिक भन्दै नेकपाका सांसदहरुले पनि रिट दायर गरेका छन्। देव गुरुङ, कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन्।
प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भएगरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन्।