काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नो पाप ढाकछोप गर्न व्यक्ति विशेषलाई टार्गेट गरेको टिप्पणी गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्री ओली आफ्नो पाप ढाकछोप गर्न बर्बराइरहेका छन्।’
आफू चुनावसँग नडराउने भन्दै पौडेलले केपी ओलीसँग पनि चुनाव लड्न तयार रहेको बताए।
प्रधानमन्त्री बुधबार प्रशारित एक टिभी अन्तर्वार्तामा रामचन्द्र पौडेललाई सभापति हुन सुझाएका थिए। अहिले पौडेल आफ्नो निर्वाचन क्षेत्रमा पनि कमजोर भएको उनले दाबी गरेका थिए।
पौडेलले निर्वाचनमा उठे हार्ने निश्चित भएकाले अहिले उनले कांग्रेसको सभापति हुन खोजे हुने ओलीको भनाइ थियो। संसद् विघटन गरेर निर्वाचन मिति तोकेको कांग्रेसले विरोध गरेको सन्दर्भमा ओलीले त्यसो भनेका थिए।