काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे प्रधानमन्त्री केपी शर्मा ओली समूहले सातवटै प्रदेशमा पार्टी इन्चार्ज तोकेको छ। आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेशमा इन्चार्ज तोकेको हो।
यसअघि दाहाल–नेपाल समूहका नेताहरु इन्चार्ज रहेको ठाउँमा ओली समूहले उनीहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी दिएको हो।
‘अहिले तीन प्रदेशमा नयाँ कमरेडहरुलाई इन्चार्चको जिम्मेवारी तोकिएको छ,’ केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने, ‘अन्य चार प्रदेशका इन्चार्ज यसअघिकै कमरेडहरु हुनुहुन्छ।’
उनका अनुसार यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ।
प्रदेश २ मा सत्यनारायण मण्डल नै रहेका छन्। उनी ओली निकट नेता हुन्। त्यस्तै बागमती प्रदेशकी इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई ल्याइएको छ।
गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। दुवै मुख्यमन्त्री ओली समूहका हुन्। कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका हुन्।
त्यस्तै सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्यो मन्त्री भट्ट पूर्व माओवादी नेता हुन्। जनवर्गीय संगठनको मोर्चाको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिइएको छ।
यसअघि जनार्दन शर्मा थिए। काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ।