काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले इमान्दार कम्युनिस्ट नेता सबै आफ्नो समूहमा आउने बताएका छन्।
बबरमहलमा भइरहेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले केपी शर्मा ओली समूहमा गएका २३ जना फर्किएको र फर्किने क्रम बढेको बताएका हुन्।
उनले भने, ‘ओली क्याम्पबाट आउने सबैलाई स्वागत छ। आगामी दिनमा इमान्दार कम्युनिस्ट साथीहरू सबै आउनु हुनेछ।’
दाहालले आफूले नेतृत्व गरिरहेको नेकपा पार्टी र ओलीको गुट भएको पनि बताए।
दाहालले उपाध्यक्ष बामदेव गौतमसँग छलफल भइरहेको भए पनि गौतमले निर्णय दिन नसकेको बताएका छन्।
दाहालले दुई पटक भेट गरेर गृहमन्त्री रामबहादुर थापालाई आफू र माधव नेपाल समूहमा आबद्ध हुन आग्रह गरेका थिए। थापाले भने प्रधानमन्त्री ओलीको समूहमा जाने निर्णय गरिसकेका छन्।
थापासँग लामो समयसँगै रहेका कुलप्रसाद केसी र थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीसमेत दाहाल–नेपाल समूहको नेकपामा आएका छन्।
दाहालले निर्वाचन आयोगमा यसअघि बुझाएको विवरणअनुसार आफ्नो समूह बहुमतको भएको बताए। उनले भने, ‘अहिले केहीले जालझेल गर्ने काम गरिरहेका छन्। हामी संविधान र कानुनमा विश्वास गर्छौ।’
उनले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएको पनि बताएका छन्। दाहालले संसद् नभएर ओलीको सरकार विघटन भएको बताए।
दाहालले प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने ‘डिजाइन’ अन्तर्गत यो सबै भएको बताएका छन्। उनले भने, ‘यो बलिदानबाट प्राप्त उपलब्धिलाई अपहरण गर्ने अपराधीसँगको लडाइँ हो।’