सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोगहरू सेवा सुविधाका लागि मात्रै गठन भएः द्वन्द्वपीडित

आयोगहरू सेवा सुविधाका लागि मात्रै गठन भएः द्वन्द्वपीडित

व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सिमित हुने गरेको द्वन्द्व प्रभावित एकल महिलाले बताएका छन्। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

पोखरा– व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सिमित हुने गरेको द्वन्द्व प्रभावित एकल महिलाले बताएका छन्। 

मानव अधिकारको लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा गरेको संक्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक कार्यशाला गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो  गरेका हुन्। 

सहभागीहरुले परिवर्तित व्यवस्थाका लागि परिवारका सदस्यले बलिदानी गरेको स्मरण गर्दै पीडितले परिवर्तनको आभास गर्न नसकेको बताएका हुन्। 

बागलुङकी द्वन्द्व पीडित जशोदा शर्माले ०५८ सालमा बेपत्ता भएका श्रीमान्को बाटो हेर्दा हेर्दैै १९ वर्ष बिताएका भोगाइहरु पोखिन्। 

‘राति कतै ढक ढक आवाज सुन्दा पनि श्रीमान नै आउनु भयो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, भोग्नेको पीडा सुन्नेले अनुभूति गर्न सक्लान र?’, भन्दै उनले बेपत्ता परिवारको समस्याको लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरिन्। 

नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्यनिरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताइन्। नामका लागि गठन हुने र सेवा सुविधामा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उनको आरोप थियो । 

पर्वतकी द्वन्द्व पीडित एकल महिला मनरुपा शर्मा ०६१ सालमा श्रीमान् मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसक्ने बताउँछिन् । उनले मानव अधिकार उल्लंघनका कुराहरु उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्व पीडितले न्याय नपाएको बताइन्। 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले विगतको तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकतावद्ध हुन थालेको बताए । 

महिलालाई राज्यले विनाधितो १५ लाख ऋण सस्तो ब्याजमा दिएको जानकारी दिँदै उद्यमशीलताको बाटोमा महिला आउन सके हिंसा र विभेदको अन्त्य हुने उनको भनाइ थियो।  

कार्यक्रममा संकल्पका निर्वतमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तन उन्मुख हुँदै गएको धारणा रखिन्। 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टंक खनालले आत्मसम्माम पूर्वक बाच्ने मानवअधिकार मैत्री समाज निर्माणमा सबै जुट्नु पर्ने धारणा राखे। 

कार्यक्रममा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक, आर्थिक, मानसिक, सांस्कृति, विविध हिंसा र विभेदमा परेको उल्लेख गरिन्। उनीहरुलाई मनोपरामर्श सहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने उनले बताइन् ।  

समूहका जिल्ला अध्यक्ष जुना केसीले एकल महिलाको अवस्था बदल्न समूहले विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिए। 

इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित महिला र एकल महिलाहरुको लागि संक्रमणकालीन न्यायको लागि द्वन्द्व प्रभावित महिलाहरुको पहुँच विषयमा अहिलेसम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्व पीडित एकल महिलाको अवस्थाको बारेमा धारणा राखे। कार्यशाला गोष्ठीमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको थियो। 
 

प्रकाशित: Dec 24, 2020| 04:19 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।