मंगलबार, चैत १०, २०८२

डोटीमा खुले सबै विद्यालय, विद्यार्थी खुशी

डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमित रूपमा पठनपाठन सुरु भएको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

डोटी– डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमित रूपमा पठनपाठन सुरु भएको छ। 

National life

कोभिड १९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन सुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा खुशियाली छाएको छ। 

भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो। 

जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन्। सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन्। 

बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका १ कपल्लेकीस्थित केदारेश्वर माविका शिक्षक रामबहादुर ऐरले बताए। भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, विद्यार्थीको पनि सहभागी बढेको छ।’ 

Laxmi sunrise bank
kumari

कोरोना महामारीका कारण कम्तीमा आठ महिनासम्म घरमा बसेका विद्यार्थी विद्यालय जान पाएपछि निकै खुशी हुन थालेको आदर्श गाउँपालिका २ का हर्कबहादुर खड्काले बताए। 

उनले भने, ‘महिनौँसम्म घरमा बस्नु पर्दा विद्यार्थीलाई तनाव भइसकेको थियो, अहिले स्कूल खुलेपछि उनीहरु खुशी साथ रमाउँदै स्कूल जान थालेका छन्।’ विद्यार्थीलाई घरभन्दा स्कूलमा बढी रमाइलो हुने भएकाले पनि यहाँका प्रायजसो विद्यार्थी अहिले नियमित विद्यालय जान थालेको उनको भनाइ छ।

जिल्लाका नौवटै स्थानीय तहमा कम्तीमा पनि मावि, निमावि, प्रावि तथा निजी गरी कूल दुई सयको हाराहारीमा रहेका विद्यालय अहिले एकै साथ सञ्चालनमा आएपछि विद्यालयबाट नै कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै अभिभावकमा चिन्ता बढ्न थालेको दिपायल सिलगढी नगरपालिका ४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए। 

उनले भने, ‘लामो समयपछि विद्यालय खुलेका छन्, जिल्लामा कोरोना जोखिम कायमै छ, सामान्य लापरवाही गरे विद्यार्थीबाट नै कोरोना जोखिम फैलिन सक्ने प्रबल सम्भावना देखिएको छ, सावधानी अपनाउन जरुरी छ।’ 

कोरोनाका कारण महिनौँदेखि बन्द भएका यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक गणेशबहादुर सिंहले बताए। 

भने, ‘कोरोना सङ्क्रमणबाट जोगिन सम्पूर्ण सुरक्षा रणनीति अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छौँ, सोही अनुसार यहाँका विद्यालयले काम गरिरहेका छन्, हामीले पनि अनुगमन गर्न थालेका छौँ।’ 

विद्यार्थीको शैक्षिक सत्र सकिनलाग्दासमेत विद्यालय नखुलेको तथा यो वर्षको शैक्षिक सत्र खेर जाने अवस्था आएका कारण कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सुरक्षा नीति अपनाएर विद्यालय सञ्चालन भइरहेको जोरायल गाउँपालिका शिक्षा विकास अधिकृत तेजबहादुर खत्रीले बताए। 

उनले भने, ‘विद्यार्थीको शैक्षिक सत्र खेर जान थालेका कारण हामीले सबै सुरक्षा रणनीति अपनाएर विद्यालय खोलेका छौँ, आशा छ, विद्यालयबाट कोरोना सङ्क्रमण फैलिने छैन।’

विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गरी खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायतका अन्य सुरक्षा उपकरण प्रयोग गरी विद्यालय सञ्चालन भइरहेको घण्टेश्वर मावि जोरायलका प्राचार्य सुनलाल थापाले बताए। 

भने, ‘पठनपाठन गर्न चुनौतीपूर्ण नै छ, तैपनि हामीले कोरोना सङ्क्रमणबाट जोगिन सबै सुरक्षा प्रविधि अपनाएका छौँ।’ चिसो मौसम भएकाले पनि ठूलो कक्षाका भन्दा पनि सानो कक्षाका बालबालिकालाई समस्या देखिने प्रबल सम्भावना भएको उनको भनाइ छ। 

यहाँका सम्पूर्ण विद्यालयले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा ०७७ जारी गरी त्यसैका आधारमा विद्यालय सञ्चालन गरेको बताइएको छ। 

उक्त निर्देशिकामा स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्य पूर्णरूपमा पालना गर्नुपर्ने, विद्यालयको भौतिक अवस्था एवं विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित: Dec 24, 2020| 03:44 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्