काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताएका छन्।
आज एक वक्तव्य जारी गर्दै उनले संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको बताएका हुन्।
वक्तव्यमा लेखिएको छ, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ।’
यस्तै उनले संसदको सातौं अधिवेशन सुरु गर्ने गृहकार्य भइरहँदा अप्रत्यासितरूपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताएका छन्।
उनले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको बताएका छन्।
साथै संवैधानिक सर्वोच्चताका लागि सांसदहरू, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनको भनाइ छ।