काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले व्यवहारतः नेकपा विभाजन भइसकेको दाबी गरेका छन्।
नेकपाका दुवै समूहले पार्टी विभाजन नभएको दाबी गरिरहेका बेला नेता गजुरेलले भने नेकपा विभाजन भइसकेको बताएका हुन्।
‘विभाजन भई नै सक्यो नि, अलगअलग बैठक गर्ने र निर्वाचनमा अलगअलग दर्ता प्रक्रिया अगाडि बढिसकेकाले,’ उनले भने, ‘कुन रुपमा कसरी विभाजन भयो भन्ने विषय मात्रै त हो नि।’
उनले कानुनी रुपमा मात्रै विभाजन भएनभएको टुंगो लाग्न बाँकी रहेको बताए। ‘अहिले कसैले कसैलाई पार्टीबाट नै हटाइसकेको छैन,’ उनले भने, ‘त्यो भएको भए त कानुनी रुपमा नै पुष्टि भइसक्ने थियो।’
उनले विधानमा नै व्यवस्था भएकाले एक अध्यक्षलाई कारबाही गरिसकेपछि रिक्त स्थानमा अर्को अध्यक्ष नियुक्त गरिएको बताए।
‘एउटा अध्यक्ष हुनु नै राम्रो कुरा हो। तर, विधानमा नै व्यवस्था भएकाले दुई अध्यक्ष भयो,’ उनी भन्छन्, ‘महाधिवेशनमा गएर त्यसलाई हल गर्ने कुरा छँदै छ। यसमा धेरै छलफल भएको छैन। कतिपयले प्रश्न उठाएका पनि छन्। तर, अहिलेको वैधानिक व्यवस्थाअनुसार एउटालाई कारबाही गरिसकेपछि अर्को राख्नु नै पर्यो।’