काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ देखि ७ गतेभित्र बेलायतबाट आएका व्यक्तिलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखापरेकाले रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टिनमा बस्न आग्रह गरेको हो।
यो बीचमा आएकाहरू १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ।
नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र पीसीआर परीक्षण गराउन पनि स्वास्थ्य मन्त्रालयले सूचित गरेको छ।
सबै सरकारी प्रयोगशालालाई बेलायतबाट आउनेको निःशुल्क परीक्षण गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले आजैबाट बेलायत–नेपाल उडान प्रतिबन्ध लगाएको छ। अन्य मुलुकबाट बेलायत ट्रान्जिट भएर आउने व्यक्तिलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ।