काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको पत्र र पार्टीको निर्णय बुझाएको छ।
स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आयोगमा केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी निर्णय बुझाइएको जानकारी दिए।
उनका अनुसार २८७ जना केन्द्रीय सदस्यको लिखित हस्ताक्षर, तीन जनाले आउन नसकेकाले पठाएको पत्रसहित आयोगमा बुझाइएको हो।
‘हामीले २८७ को लिखित हस्ताक्षर र तीन जनाले पठाएको पत्रसहित बुझाएका छौं,’ उनले भने, ‘भोलसम्म १५ जना जति केन्द्रीय सदस्यहरु थपिन सक्नु हुनेछ।’
उनले केन्द्रीय कमिटीको ६७ प्रतिशत सदस्यहरुको बहुमत पुगेकाले पार्टीको नाम र चुनाव चिह्न आफूहरुकै रहने दाबी गरे।
पोखरेलसहित नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोगमा पुगेर हस्ताक्षर र पार्टीको निर्णय बुझाएका हुन्।