काठमाडौं– आफू नेतृत्वको समूह वैधानिक भएको हस्ताक्षर सहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल समूह आज (बुधबार) निर्वाचन आयोग जाने भएका छन्।
प्रचण्ड–नेपाल पक्षले आज तीन सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाने भएको हो। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोगमा जान लागेको एक नेताले बताए।
केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली निर्वाचन आयोग जाने तयारीमा लागेको बताइएको छ। यसअघि नेकपा गठन भएपछि ४ सय ४१ सदस्यको विवरण आयोगमा बुझाइएको थियो।
नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सदस्यको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने प्राब्धान छ।
यसअघि सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड(नेपालका पक्षमा रहेको जानकारी दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार केन्द्रीय सदस्यहरुको नाम थप गरेर निर्वाचन आयोगमा पत्र बुझाएको बताइएको छ।
निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिन्ह बहुमत सदस्य भएको पक्षले पाउनेछ।