सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेम विवाह गरेको तीन दिनमै दाजुले गरे बहिनीको हत्या

प्रेम विवाह गरेको तीन दिनमै दाजुले गरे बहिनीको हत्या

आफैले रोजेको केटासँग प्रेम विवाह गरेपछि साकेला गाउँपालिका १ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

खोटाङ– आफैले रोजेको केटासँग प्रेम विवाह गरेपछि साकेला गाउँपालिका १ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ।

पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो। 

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट उनलाई जंगलमा लगेर हत्या गरेको खुल्न आएको हो। 

हत्या हुुनुुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफै आफूहरुको घरमा आएर सकुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए। 

‘हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो’, उनले भने, ‘घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो।’ 

भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुन्तलाका भाइ समीर राईले बताए। ‘दाजु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्’, उनले भने, ‘आफूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ। हत्यामा संलग्न दाजु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस्।’

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए।  भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौंमा सिलाइ–कटाइ पेशा गर्दै आएकी थिइन्।  

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए। सकुन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरे। 

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।  ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ।’

दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन्। उत्तिसको लाथ्रो (लौरो)ले हानेर हत्या गरिएकी सकुन्तलाको शव मंगलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ। 

प्रकाशित: Dec 23, 2020| 02:53 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।