पोखरा–नेपाली कांग्रेस संसदीय दल गण्डकीले अहिले नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै निर्णय नभएको बताएको छ।
मंगलबार दलको बैठक बसेर राजनीतिक घटनाक्रमको विरोध गर्ने भन्दै अहिले सरकारमा सहभागिताको कुनै अगुवाई नगर्ने बताएको हो।
‘गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलले सरकार निर्माणमा सहभागिता जनाउने, अविश्वासको प्रस्ताव पेस गर्ने लगायत कुनै राजनीतिक निर्णय नगरेको जानकारी गराउँदछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ। प्रतिनिधिसभा विघटन गर्नु नेपाली जनताको स्थायी सरकार र विकासको लागि दिएको जनमतको घोर अपमान र संविधानको ठाडो उलंघन भएको आरोप लगाउँदै यसको घोर भत्र्सना गर्ने निर्णय गरिएको छ।
कांग्रेसले जनता समाजवादी पार्टीसँग मिलेर विशेष अधिवेशन माग गरिसकेको छ।
अधिवेसशन सुरु भएपछि संसदबाट नै संसद विघटनको विरोध गर्ने निर्णय भएको संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले बताए।
‘पार्टीको केन्द्रीय समितिले जे निर्देशन गर्छ। सोही अनुसार कार्यान्वयन हुन्छ,’ उनले भने, ‘सरकारमा जाने वा नजाने भन्ने विषयमा आधिकारिक निर्णय भएको छैन।’
६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसका १५ सांसद छन्। सत्तारुढ दलभित्र केपी ओली समूहका २७, पूर्व माओवादी पक्षका १२, माधव नेपाल पक्षका १ सांंसद छन्।
राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन्। जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको छ।