काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परिवर्तित राजनीतिक परिस्थितिबारे कांग्रेस गहिरो छलफल र विमर्शमा रहेको बताएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘मुलुकको राजनीति तातेको छ। संसद् विघटनपछि संविधान र राज्य प्रणालीमै प्रश्न उब्जिएको छ। विषय गम्भीर भएकाले धारणा राख्न केन्द्रीय सदस्यहरुलाई पूरा समय दिइएको छ।’
प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक र निरंकुश रहेको दोहोर्याउँदै शर्माले नेकपा सरकारले नागरिकको अपेक्षा खण्डित गरेको बताए।
उनले भने, ‘संविधानले विघटन गर्ने अधिकार थिएन। घरभित्रको झगडा व्यवस्थापन नगरी मुलुकलाई अँध्यारो सुरूङमा जाक्ने प्रयत्न भएको छ। मुलुकमा कोरोनाका कारण मानिस मरेर सेतो कात्रो ओढ्नुपरेका बेला प्रधानमन्त्रीले भने रातो झण्डा लिएर भोट माग्न जाने यत्न गर्नुभयो।’
अहिलेको अवस्थामा कांग्रेस बैठकले के निर्णय गर्छ भनेर सबैमा चासो रहेको भन्दै प्रवक्ता शर्माले गम्भीर र संयम भएर छलफल गरी निष्कर्ष निकालिने बताए। ‘बैठक केही दिनसम्म चल्छ। मुलुकलाई मार्गप्रशस्त गर्ने निर्णय हुन्छ,’ शर्माले भने।