काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक आगामी पुस ९ गते बस्ने भएको छ।
अध्यक्ष ओलीले बालुवाटारमा जारी केन्द्रीय समिति बैठकमा समापन मन्तव्य व्यक्त गर्दै यस्तो जानकारी दिएका हुन्।
बैठकले महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव पारित गरेको छ।
यसै गरी केन्द्रीय कमिटी बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ भने पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका थिए।
केन्द्रीय सदस्य सूर्य थापाका अनुसार अनुसार ओलीले हिजै मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयन गरेका थिए। उक्त नामावली अनुमोदन गर्न ओलीले आजको बैठकमा प्रस्ताव गरेका थिए।
बैठकले ओलीको प्रस्ताव पारित गरेपछि उनीहरुलाई शपथ ग्रहण गराइएको हो।
५५६ जना थपिएपछि नेकपा महाधिवेशन आयोजक समितिको संख्या ११ सय ९९ पुगेको छ। मौजुदा संख्या ४४७ मा ५५६ थप गरिएको र बाँकी १९६ पनि चाँडै मनोनित गरिने बताइएको छ।