काठमाडौं- तत्कालिन माओवादीका प्रभावशाली नेता मणि थापा र टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् ।
शसस्त्र युद्धका सहयात्री थापा र रायमाझी दाहालको साथ छाडेर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा गएका छन् ।
ओलीले आज डाकेको केन्द्रीय कमिटीको बैठकमा समर्थन जनाउन थापा र रायमाझी बालुवाटार पुगेका छन् । उनीहरुले ओली पक्षले संकलन गरेको हस्ताक्षरमा समेत सहभागीता जनाएका छन् ।
नेकपा भित्र पछिल्लो समय चर्किएको विवादका विषयमा यी दुई नेता मौन देखिएका थिए । सार्वजनिक रुपमा बाहिर नबोलेका उनीहरुले पार्टीको विवाद सहमतिबाटै हल गर्नु पर्ने पक्षमा थिए । मौन देखिएका उनीहरु अन्ततः ओलीको क्याम्पमा प्रवेश गरेका हुन् ।
यसअघि पूर्व माओवादीका अर्का नेता लेखराज भट्ट पनि दाहालको साथ छाडेर ओली क्याम्पमा प्रवेश गरेका थिए ।
यस्तै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने अहिलेसम्म ओली क्याम्पमा प्रवेश गरेको औपचारिक जनाउ दिएका छैनन् । उनी हाल दाहालको पक्षमा पनि देखिएका छैनन् । आफू मध्यमार्गी बाटोमा रहेको उनको दाबी छ ।
त्यस्तै ओलीको क्याम्पमा जाने तयारीमा रहेको भनेर चर्चा भएपनि पूर्व माओवादी नेता हरिबोल गजुरेल दाहाल क्याम्पमै बसेका छन् । उनी ओलीले आज डाकेको केन्द्री कमिटीको बैठकमा गएका छैनन् ।