काठमाडौं- नेकपाका दुई अध्यक्षले डाकेको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा नजाने भएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टा छुट्टै स्थान र समयमा केन्द्रीय कमिटीको बैठक डाकेका छन् । तर, दुबै पक्षले डाकेको बैठकमा गौतम र थापा नजाने भएका हुन् ।
वामदेव निकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार पार्टी विभाजनको साक्षी बस्न नजाने निर्णयमा गौतम पुगेका छन् । उनका अनुसार पार्टी पुर्नगठन भएपछि अवाश्यकता र एजेन्डाका आधारमा एउटा गुटमा लाग्ने गौतमको योजना छ ।
यस्तै गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य थापा पनि तत्कालै कुनै गुटको भेलामा नजाने तयारीमा छन् । सोमबार आफू निकटका नेताहरु छलफल गरेका थापा पर्ख र हेरको रणनीतिमा छन् ।
आज बस्ने ओली र दाहाल पक्षको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकसँगै नेकपा औपचारिक रुपमा फुटको अवस्थामा पुग्ने छ । त्यसका लागि दुबै पक्ष निर्वाचन आयोग पार्टी आफ्नो कब्जामा लिन दौडधुप गर्न सुरु गरेका छन् ।