धादिङ– धादिङ अस्पतालमा सघन उपचार कक्ष (आईसियू) सहितको भेन्टिलेटर सेवा सुरु भएको छ।
कोरोना भाइरस महामारीपछि वाग्मती प्रदेशअन्तर्गत यो सेवा शुभारम्भ भएको धादिङ तेस्रो जिल्ला हो। यसअघि भक्तपुर र मकवानपुरमा सघन उपचार कक्ष (आईसीयू) सहितको भेन्टिलेटर सेवाको शुरुआत भइसकेको छ।
धादिङ अस्पतालले १० श्ययाको आर्इसियू र दुई थान भेन्टिलेटर सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आईसीयूसहितको भेन्टिलेटर सेवाको शुभारम्भ गरेपछि सर्वसाधारणका लागि सो सेवा खुल्ला भएको अस्पतालले जनाएको छ।
उनले अस्पतालको क्षमता बढाउनका लागि औजार, उपकरण सहयोग गर्ने उल्लेख गर्दै धादिङ अस्पतालले निकट भविष्यमा नै डायलासिस सेवा र मुटु रोगको प्रारम्भिक उपचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सघाउने बताए।
कार्यक्रममा धादिङ अस्पतालले दिएको सेवाका बारेमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी गराएका थिए।
धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा कार्यक्रम भएको थियो।
–––