काठमाडौं– आइतबार बिहान १० बजेतिर प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गर्न बालुवाटार पुगेको समाचार सार्वजनिक भयो।
११ बजेदेखि कारोबार सुरु हुने धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुले अब देशमा के हुन्छ भन्ने डरका कारण आफूसँग भएको सेयर बिक्री गर्न थाले।
साँझसम्ममा प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरिसकेकी थिइन्। दिउँसो ३ बजे कारोबार बन्द हुने सेयर बजार परिसूचक (नेप्से) झन्डै सय अंकले ओरालो लाग्यो। तर कारोबार भने ९ अर्ब ४ करोड रुपैयाँबराबरको भयो, अन्य दिनको भन्दा कम होइन।
आइतबार ओरालो लागेको बजार आज सोमबार केही उकालो लाग्यो। नेप्से परिसूचक ३०.३३ अंकले बढेर १९६५.९६ अंकमा अडिएको छ। नेप्सेको यो गति नरोकिने बजार विश्लेषकहरुको अनुमान छ।
अर्थतन्त्रको विकासका लागि राजनीतिक अस्थिरतालाई ठूलो बाधकको रुपमा लिइन्छ। तर, सेयर बजारमा उल्टो हुने गरेको छ। विगतमा पनि यस्तै देखिने गरेको छ।
महामारी, प्राकृतिक विपत्ति वा राजनीतिक परिवर्तन हुँदा बजारले उकालो यात्रा तय गर्ने गरेको इतिहास रहेको सेयर बजार विश्लेषक प्रकाश तिवारी बताउँछन् । उनका अनुसार २०६२–०६३ सालको आन्दोलनको लगत्तैपछि पनि बजार निकै माथि पुगेको थियो। २०० देखि ३०० को हाराहारीमा रहेको नेप्से २ पुस २०६४ मा १०७४ अंकसम्म पुगेको थियो।
अहिले पनि कोरोना महामारी र राजनीतिक अस्थिरताको बाबजुद सेयर बजार बढ्ने देखिएको विश्लेषकहरु बताउँछन्।
नेपाल स्टक एक्सचेन्जका प्रबक्ता मुराहरी पराजुली पनि राजनीतिक अस्थिरता हुँदा बजार बढ्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘राजनीतिक अस्थिरता भएको समयमा बजार उकालो लाग्ने गरेको छ। अहिले पनि त्यस्तै हुने देखिएको छ।’
बजार विश्लेषक तिवारीका अनुसार महामारी, राजनीतिक परिवर्तन र प्राकृतिक विपत्तिका कारण सरकार र नियामक निकायले नियमनमा लचकता अपनाउँछन् र बजारमा रकम अभाव भएको भन्दै नीतिनियम पनि कडाइका साथ लागू गर्दैनन्। यसको फाइदा लगानीकर्ताले उठाउने उनको तर्क छ।
राजनीतिक अस्थिरता तथा दैवी विपत्ति परेका बेला सेयर बजारमा ६० देखि ७० प्रतिशत नयाँ लगानीकर्ता प्रवेश गर्ने र उनीहरुले हल्लाको भरमा लगानी गर्ने हुँदा बजार अस्वाभाविक रुपमा नै बढ्ने तिवारीको भनाइ छ।
सेयर बजारका अर्का विश्लेषक रवीन्द्र भट्टराई नेपालमा लगानीका लागि अन्य क्षेत्रहरु सुरक्षित नहुने देखिएपछि लगानीकर्ताले विकल्पको रुपमा सेयर बजारमा लगानी गर्ने गरेको बताउँछन्।
‘राजनीतिक स्थिरता हुँदै गयो र लगानीका लागि अन्य ढोकाहरु पनि खुल्दै गए भने लगानीकर्ता अन्यत्र डाइभर्ट हुनेछन् र सेयर बजारको चमक विस्तारै हराउनेछ। नत्र बजार उकालो गतिमा बढिरहने छ,’ भट्टराईले भने।