काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका तितोपिरो भुलेर निर्वाचनमा सहभागी हुन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन्।
उनले निर्वाचनमा एक भएर भाग लिँदा पार्टी एकतासमेत सुदृढ हुने बताए। ‘विगतका तितोपिरो बिर्सेर म सबै साथीहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु। यसले पार्टी एकता सुदृढ हुन्छ’, उनले भनेका छन्, ‘यो लोकप्रियताको मापन गर्ने अवसर पनि हो। प्रधानमन्त्री बन्ने प्रयासमा रहेकाहरुलाई पनि र प्रतिपक्षी दललाई पनि यो अवसर हो।’ उनले आफूलाई काम गर्न नदिइएको बताउँदै जननिर्वाचित सकारले काम नपाउँदा रोज्ने बाटो नै निर्वाचन भएको जिकिर गरे।
उनले प्रतिनिधिसभा विघटन हुँदा मुलुक जनप्रतिनिधिविहिन नहुने बताए। ‘प्रतिनिधिसभा विघटन हुँदा मुलुक जनप्रतिनिधिविहिन हुँदैन। राष्ट्रियसभा सक्रिय छ। प्रदेश सरकार र प्रदेशसभा छन्। स्थानीय सरकारहरु पनि क्रियाशिल छन्। यी संस्थाले राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन्,’ उनले भने, ‘न्यायालय र राष्ट्रपति पनि क्रियाशिल नै रहेनछन्। चार महिनापछि प्रतिनिधिसभा पनि पुनस्र्थापित भइहाल्छ।’
उनले निर्वाचन घोषणाले मुलुकमा राजनीतिक अस्थिरता पैदा हुने, लोकतन्त्र खतरामा परेको भनेर निराधार प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरे।