मंगलबार, भदौ २३, २०८३

सुदूरपश्चिममा फेरि छाउगोठ भत्काउने अभियान शुरु

सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

डोटी- सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ। 

कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो। 

गृह मन्त्रालयले गएको वर्ष पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो तर गएको वर्ष चैत महिनादेखि देशव्यापी कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो । 

अहिले यहाँका जिल्लामा छाउगोठ भत्काउने अभियान शुरु हुन थालेको छ। यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै पुनः नौवटा छाउगोठ भत्काइएको छ।

छाउगोठ भत्काउने अभियानमा निस्किएको टोलीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका नौवटा छाउगोठ भत्काएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। उनले भने, “कोरोना कहरका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिएको थियो, अहिले हामीले पुनः भत्काउन शुरु गरेका छौँ, एकै दिनमा हामीले नौवटा छाउगोठ भत्काएका छौँ ।” 

छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको उनले जानकारी दिए ।

यसैगरी डोटीमा पनि छाउगोठ भत्काउने अभियान चाँडै शुरु हुने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोना सङ्क्रमण फैलिनुभन्दा पहिले जिल्लामा भएका धेरै छाउगोठ भत्काइसकिएका छन्, कहीँकतै अझै राखिएका भए त्यसको जानकारी लिने काम भइरहेको र भेटिएको खण्डमा भत्काउने तयारीमा छौँ ।” 

जिल्लामा कुन कुन ठाउँमा छाउगोठ राखिएका छन् त्यसको विषयमा जानकारी लिनका लागि सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । 

विगतमा जिल्लामा कम्तीमा पनि २०० को हाराहारीमा छाउगोठमध्ये प्रहरी तथा स्थानीय प्रशासनले केही हटाए पनि अझै छाउगोठ कायमै रहेको हुनसक्ने यहाँका स्थानीयको अनुमान रहेको छ । 

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ (३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ । 

जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको छ । 

महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घ्यू, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्ध विश्वास अझै कायमै रहेको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताइन् । 

प्रकाशित: Dec 21, 2020| 04:14 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।