काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएको छ।
पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहत् छलफल गरी विभिन्न निर्णय गरेको जनाएको छ।
बैठकमा अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापासमेतको उपस्थिति थियो । मन्त्रिपरिषदको सिफारिसमा संसद् विघटन हुने व्यवस्था संविधानले नगरेको राप्रपाले बताएको छ।
‘सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको छ । प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पुर्याएको छ । राप्रपा उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामि निर्णयको विरोध र भर्त्सना गर्दछ । मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याउनु भएको छ,’ राप्रपाले भनेको छ, ‘प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२–०६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ ।’