पर्सा– संसद् विघटनको विरोधमा आइतबार वीरगन्जमा प्रदर्शन भएको छ।
सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताले वीरगन्जस्थित घण्टाघरमा संसद् विघटनविरुद्ध प्रदर्शन गरेका हुन्। विरोधका क्रममा उनीहरुले संसद् विघटनको निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए।
प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर सामान्य झडप भएको थियो। सोही क्रममा प्रहरीले नेकपा पर्साका युवा नेता मनोज चौधरीलाई नियन्त्रणमा समेत लिएको थियो।
संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको प्रदर्शनमा सहभागीले बताएका छन्।
प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव विजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायत सहभागी थिए।