काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मन्त्रीहरूले सामूहिक राजीनामा दिने विषयमा छलफल थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गरेपछि असन्तुष्ट मन्त्रीहरु राजीनामा दिने तयारीमा जुटेका हुन्।
यस विषयमा मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, विना मगरलगायतबीच सिंहदरबारमा छलफल भइरहेको एक मन्त्रीले नेपाल समयलाई जानकारी दिए।
खुमलटारमा दाहाल–नेपाल समूहको बैठकमा पनि नेताहरूले मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए।
‘शीर्ष नेताहरूको यस्तो धारणापछि हामी सामूहिक राजीनामा दिने तयारीमा जुटेका छौं। यसबारेमा छलफल भइरहेको छ। कुनै निर्णय भने भएको छैन’, वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताले भने।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल नै नगरी एकलौटी रूपमा संसद् विघटनको सिफारिस गरेका थिए। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले उक्त प्रस्ताव राखेर मन्त्रीहरुलाई बोल्नै नदिई बाहिरिएका थिए।