पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेका छन्।
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधव कुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी तथा जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका छन्।
प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नाराबाजीसहित आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।
उनीहरुले केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन्।
जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन्। संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्याथीले चेतावनी दिएका छन्।
समाजवादी विद्यार्थी संगठनका नेता रेशम सापकोटाले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्री विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए।
पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले सबै राजनीतिक दलका विरुद्ध लोकतन्त्रको रक्षका निम्ति आन्दोलन सुरु भएको बताए।
प्रचण्ड–नेपाल समर्थित विद्यार्थीहरुले १ बजे पोखराको महेन्द्रपुलमा आन्दोलनको तयारी गरेका छन्। विद्यार्थीहरुको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले बताएका छन्।