काठमाडौं– जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी कू गरेको बताएका छन्।
फेसबुक स्टाटस लेख्दै उनले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु प्रधानमन्त्री ओलीको प्रतिगामी कदम भएको बताएका छन्। त्यसको विरूद्ध तुरून्तै प्रतिनिधिसभाको बैठक डाक्नका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेता श्रेष्ठले यस कदमको विरूद्ध रहेका सबै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरू मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधीबेहरी सृजना गर्नुपने बताउँदै अबको आन्दोलनको मुख्य एजेण्डाहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, राष्ट्रिय स्वाधीनता, सहभागितामूलक समावेशी लोकतन्त्र, अधारभूत मानव अधिकारको रक्षा, विधीको शासन, समतामूलक समृद्धि, जनजीविकाको ग्यारेण्टी, सुशासन आदि हुनुपर्ने बताएका छन् ।