काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। उनी केही बेरअघि राष्ट्रपति निवास प्रवेश गरेको शीतल निवास स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज बिहानैदेखि राजनीतिक भेटघाट तीव्र पारेका छन्। सबै भेटमा नेकपाभित्रको विवाद समाधानमा केन्द्रित रहेको बताइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले मन्त्री निवास पुल्चोक पुगेर मन्त्रीहरुसँग भेट गरेका थिए। अध्यक्ष ओलीले पुल्चोकमा पुगेर सुरुमा गृहमन्त्री रामबहादुर थापालाई भेटेका थिए।
थापासँगको छलफलपछि अरु मन्त्रीहरुलाई पनि उनकै निवासमा बोलाएर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रीहरुसँगको भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको छ।
साथै आफूले अर्का अध्यक्ष दाहाललाई भेट गरेको र भेटमा सरकारका कामबारे दाहालले राखेको चासो, अध्यादेश फिर्ताको विषय पनि मन्त्रीहरुलाई जानकारी गराएका थिए।
ओली बिहान ११ बजे दाहाल निवास खुमलटार पुगेका थिए। दुई अध्यक्षबीच नेकपाभित्र लामो समयदेखि जारी विवाद समाधानबारे छलफल भएको बताइएको छ।