मंगलबार, भदौ २३, २०८३

ठेक्कामा जग्गा जोत्ने सांसद

विलासी जीवनशैली, सहरमा बसोबास, चुनाव जितेलगत्तै गाउँबाट बेपत्ता। अधिकांश सांसद, मन्त्री, नेताले जनताको नजरमा बनाएको छवि यही हो। वसन्त बानियाँ यसका अपवाद हुन्। सांसद निर्वाचित भएपछि उनले गाउँघर र खेतीपाती छोडेका छैनन्। जीवनशैली बदलेका छैनन्। 
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

विलासी जीवनशैली, सहरमा बसोबास, चुनाव जितेलगत्तै गाउँबाट बेपत्ता। अधिकांश सांसद, मन्त्री, नेताले जनताको नजरमा बनाएको छवि यही हो। वसन्त बानियाँ यसका अपवाद हुन्। सांसद निर्वाचित भएपछि उनले गाउँघर र खेतीपाती छोडेका छैनन्। जीवनशैली बदलेका छैनन्। 

चुनाव जितेका सांसद मात्र होइन, उपल्लो तहका अधिकांश नेता गाउँघरमा बस्दैनन्। अधिकांश नेताले राजधानीलगायत ठूला सहरमा घर ठड्याएका छन्। गाडीमा हुइँकिन्छन्। तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभामा निर्वाचित सांसद वसन्त बानियाँको कथा फरक छ। निर्वाचित भएपछि उनले गाउँघर छोडेर सहरमा डेरा सारेका छैनन्। घरमै परिवारसँग बसिरहेका छन्। खेतीपातीलाई निरन्तरता दिएकै छन्। 

नजिकको यात्रा आफूसँग भएको पुरानो स्कुटरले धान्छन्। संसद् बैठकमा सहभागी हुन विराटनगर जानुपर्दा सार्वजनिक बस चढ्छन्। कचनाकवल गाउँपालिका–७ बालुबाढीको घरबाट बिर्तामोडसम्म स्कुटरमा, त्यहाँबाट बसमा विराटनगर। 

संसद् बैठक अबेरसम्म बस्दा वा दैनिक कार्यसूची हुँदा उनलाई चार घण्टाको यात्रा गरेर घर फर्किने फुर्सद मिल्दैन। त्यस्तो बेला धेरैजसो विराटनगरकै आफन्त, साथीभाइ, कार्यकर्ताको घर र कहिलेकाहीं होटलमा बस्छन्। 

गाउँ नछोडेको र सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने हुँदा उनी जनतासँग नजिकै रहन पाएका छन्। भन्छन्, ‘जनताले दैनिक जस्ता समस्या भोग्छन् त्यो मैले पनि भोगिरहेको छु। धुलो खाँदै यात्रा गर्दा आमजनताका समस्याबारे अपडेट भइराख्छुु।’ 

सार्वजनिक गाडीमा हिँड्दा कतिले चिन्छन्, कतिले चिन्दैनन्। बसमा यात्रुहरु मिलेर नेतालाई गाली गरेको बानियाँले थुप्रै पटक सुनेका छन्। ‘जनता आक्रोशित हुनु र नेताप्रति वितृष्णा बढ्नुको कारण हामी आफैं त हो’, उनी भन्छन्।

गाउँमै बस्नुको फाइदा उनलाई धेरै आर्थिक भार पर्दैन। आर्थिक भार नपर्दा कमाइको विकल्प खोजिरहन परेन। जनताका काममा समय दिन पाइयो। छरछिमेकको बिहेवारीदेखि अन्य सामाजिक क्रियाकलापमा सरिक हुन पाइयो। ‘अनावश्यक खर्च भएन भने यताउति गरेर धन थुपार्ने बाध्यता पनि लाग्दैन,’ उनी भन्छन्, ‘बिहानै कहिले छिमेकको घरमा, कहिले नजिकैको पसलमा पुगेर चिया खान्छु।’ 

बानियाँ पहिले जस्तै घरको काम नियमित गर्छन्। पुख्र्यौली पेसा खेतीपातीलाई पनि निरन्तरता दिएका छन्। आफैंले उत्पादन गरेको खाद्यान्न र तरकारीले पाँच जनाको परिवारलाई पर्याप्त हुन्छ। धान, तोरी, फापर, मकै, अदुवा, बेसारलगायत खेती गर्छन्। बाख्रा, कुखुरा, गाई पालेका छन्। अहिले बारीमा आलु हराभरा छ। 

आलुबारीमा सांसद बानियाँ। 

‘बुबाआमा वृद्ध हुनुभयो, श्रीमती र छोरीलाई मात्रै काममा जोताउन मन मान्दैन,’ उनी भन्छन्, ‘आफ्नै घरको काम नगर्ने नेताले देश बनाउला भनेर कसरी पत्याउनु?’ उनकी श्रीमती गाउँकै प्राविमा अस्थायी शिक्षक छिन्। 

सांसद बानियाँको परिवारको नाममा तीन कट्ठा जग्गा र जस्ताले छाएको घर छ। यसअघि उनले दुई बिघा जग्गा ठेक्कामा लिएर खेती गर्थे। यो वर्षदेखि करिब एक बिघा जग्गा ठेक्कामा लिएका छन्। ठेक्काबापत जग्गा धनीलाई १५ मन धान बुझाउनुपर्छ। 

असमान विकास 

झापाका केही स्थानमा अझै बत्ती र बाटोघाटोको सुविधा छैन। बानियाँको क्षेत्रको धेरै स्थान पनि तीन वर्षअघिसम्म अन्धकारमै थियो। एउटै जिल्लाको कुनै ठाउँमा बाटो, बत्ती, शिक्षा, स्वास्थ्य सबै उपलब्ध हुने र अर्को स्थानमा केही नहुने अवस्था आउनुको मुख्य कारण मुलुकको बजेटमा ठूला नेताको हालिमुहाली भएको बानियाँको ठहर छ। 

पहुँचवाला नेताका क्षेत्रमा बजेटको खोलो बग्ने प्रवृत्तिले उनलाई घोच्छ। ‘अधिकांशको सोच देश भनेको आफ्नो निर्वाचन क्षेत्र र जिल्ला मात्रै हो भन्ने छ,’ बानियाँ भन्छन्।

प्रदेशस सांसद निर्वाचित भएको तीन वर्षमा उनले पनि आफ्नो क्षेत्रका अधिकांश स्थानमा बत्ती पुर्‍याए। लगभग सबै वडालाई बाटोले जोडे।  

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापाको दमकमा तीन अर्ब रुपैयाँ लागतमा भ्युटावर बन्दै छ। त्यही झापाकै केही स्थानमा अझै बाटो, बत्ती र खानेपानीको सुविधा छैन। बानियाँलाई विकासको यो असमानता चित्त बुझेको छैन। भन्छन्, ‘यस्तो विकासले जनताको जीवनस्तरमा सुधार ल्याउँदैन। अग्ला भवन, चिल्लो बाटो भन्दा पनि शिक्षा, स्वास्थ्य, खानेपानी आममानिसको सोच र चेतनाको स्तर सबै सन्तुलित रुपमा अगाडि बढ्यो भने मात्रै विकास मानिन्छ।’ 

‘ठूला भाषण, साना काम’

बानियाँ आफूले चाहे जसरी काम गर्न नसकेको बताउँछन्। ‘निर्वाचन क्षेत्रको मात्रै होइन, सिंगो मुलुकलाई कायापलट गर्ने ठूला भाषण गर्दै चुनाव जितियो। अहिले सोअनुसार काम गर्न सकिएको छैन,’ उनी भन्छन्।

यद्यपि, जनताका आधारभूत समस्या समाधान गर्न सकेमात्र पनि ठूलै काम हुने उनी ठान्छन्। आफ्नो निर्वाचन क्षेत्रमा पर्यटनको राम्रो सम्भावना देखेका उनी संघीय मन्त्रालय धाइरहेका छन्। मुलुकको सबैभन्दा होचो स्थान कचनकवल उनकै निर्वाचन क्षेत्रमा पर्छ।

त्यहाँ पर्यटनको विकासका लागि उनले भर्खरै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन्। पार्टीका शीर्ष नेता र अन्य मन्त्रीको दैलो चहारिरहेका छन्। 

भद्रपुरबाट करिब ६ किलोमिटर दुरीमा रहेको किच्चकबधलाई सरकारले पुरातात्त्विक क्षेत्र घोषणा गरेको छ। महाभारतको कथासँग जोडिएको उक्त क्षेत्रको विकासका लागि पनि बानियाँ प्रयासरत छन्। 

उनी भन्छन्, ‘५२ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ। दुई महिनाअघि ‘चिल्ड्रेन पार्क’ उद्घाटन भइसकेको छ।’ मनोरञ्जन पार्क निर्माण भइरहेको छ। खानेपानी र व्यवस्थित शौचालय पनि बनाइएको उनी बताउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धानका लागि ‘सुपरजोन’ घोषित उनको क्षेत्रमा बिउबिजनदेखि, उत्पादन र बजारीकरणको समस्या समाधान गर्ने योजनामा बानियाँले काम गरिरहेका छन्। 

डुबानमा परिरहने उक्त क्षेत्रमा व्यवस्थित बसोबास गराउने काममा लागेका उनको प्रयासमा गाउँमा सामुदायिक भवन पनि निर्माण भएको छ। उनले सिँचाइका विभिन्न आयोजनाका लागि प्रयास गरिरहेका छन्। त्यसका लागि फाइल बोकेर काठमाडौं धाउने उनले केही आयोजना अगाडि बढाइसकेका छन्। 

कृषिमन्त्री घनश्याम भुसालसँग।

तीन सरकार, तीनतिर मुख

मुलुकमा तीन थरी सरकार छन्। जनताको दैलोमा सीधै ठोक्किने जनप्रतिनिधि कम्तीमा पाँच जना छन्– वडा अध्यक्ष, मेयर, उपमेयर, प्रदेश र संघीय सांसद। यिनीहरू सबै मिलेर एकीकृत योजनाअनुसार काम गरे जनताले केही राहतको महसुस गर्थे कि? बानियाँ भन्छन्– ‘पक्कै पाउँथे, विडम्बना! हामी सबैलाई आ–आफ्नै काम देखाउनु छ।’ 

उनको क्षेत्रबाट संघीय संसदमा राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गर्छन्। दुईमध्ये एक स्थानीय तहमा पनि राप्रपाको बहुमत छ। अर्कोमा उनको आफ्नै पार्टी नेकपाको बहुमत छ। तर दुवै स्थानीय तह र संघीय सांसदसँग स्थानीय विकासका लागि तीन वर्षमा एकपटक पनि छलफल भएको छैन। सबै आ–आफ्नै तालमा छन्। 

स्थानीयवासीसँग।

चुनावमा उक्त क्षेत्रबाट तत्कालीन वाम गठबन्धन र राप्रपा मिलेर लडेका हुन्। तर निर्वाचित भएपछि उनीहरूबीच विकासको कामका लागि बातचित भएको छैन। बानियाँ भन्छन्, ‘म त सबै मिलेर अगाडि बढ्ने पक्षमा छु। तर न संघीय सांसदले इच्छा देखाउनुहुन्छ न स्थानीय सरकारका प्रतिनिधिले टेर्नुहुन्छ।’ 

इच्छाशक्ति भए चाहिँ धेरै काम गर्न सकिने उनको बुझाइ छ। ‘जनताले अपेक्षा गरेका ससाना काम पनि गर्न नसक्नुमा चाहिँ जनप्रतिनिधि आफ्नो फाइदाको पछि दौडेर हो,’ बानियाँ भन्छन्, ‘काम गर्न केहीले रोकेको छैन, स्रोत पर्याप्त छ।’ 

एक सरकारले अर्को सरकारलाई आफ्नो प्रतिस्पर्धीका रुपमा बुझिरहेकाले पनि समस्या आएको उनी ठान्छन्। 

स्थानीय सरकारका प्रतिनिधिदेखि संघीय मन्त्रीसम्मले महँगा गाडी हुँइक्याएको उनलाई चित्त बुझेको छैन। भन्छन्, ‘आफ्नो मात्रै सुविधा खोज्ने हो भने किन राजनीति गर्नुपर्‍यो? व्यवसाय गरे, जागिर खाए पर्याप्त हुन्छ।’

प्रकाशित: Dec 19, 2020| 03:02 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।