पोखरा– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) की पत्नी दिक्छेन लामा धरौटीमा छुटेकी छन्।
मंसिर १० गते डाँकाचोरी मुद्दामा पक्राउ परेकी लामा थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतको आदेशबाट धरौटीमा रिहा भएकी हुन्। जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।
फौजदारी कार्यविधि संहिता ०७४ अनुसार ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको अदालतका स्रेस्तेदार रामप्रसाद पौडेलले बताए।
पोखराको रक्षामार्गस्थित घरबाट २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति डाँकाचोरी गरेको आरोप दिक्छेन माथि लागेको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मंसिर ४ मा जाहेरी परेको थियो।
प्रहरी र अदालतमा दिएको बयानमा दिक्छेनले आफूले चोरी नगरेको बरु उल्टै पति दीपक मनाङेले फसाउन यो प्रपञ्च रचेको दाबी गरेकी छन्।
रोनित गुरुङको कोठाबाट चाँदीका ७ वटा अम्खोरा, बुद्धको मूर्तिसहित ६ वटा मुर्ति चोरेको भन्दै परेको जाहेरी नै प्रतिशोधपूर्ण रहेको उनले बयान दिएकी छन्।