काठमाडौं- नवीनतम प्रविधि, शिक्षण शैली एवम् सेवाको समायोजन गरी ख्याती कमाएको भारतको अग्रणी शैक्षिक संस्था अपग्राडले नेपाली प्रशिक्षार्थीहरूका लागि पनि आफ्नो सेवा विस्तार गरेको छ ।
मेन्टरल्यावको सहकार्यमा भित्रिएको अपग्राडले नेपालका प्रशिक्षार्थीहरूलाई जुनसुकै कुनाबाट जुनसुकै समयमा उच्च शिक्षाका अनलाइन शैक्षिक प्रविधि मार्फत शिक्षा सेवा र सुविधाको अवसर उपलब्ध गराउने बताइएको छ ।
अपग्राडका प्रमुख कार्यकारी अधिकृत अर्जुन मोहन तथा मेन्टरल्याव नेपालका अध्यक्ष भानु दवाडीले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहकार्यले शैक्षिक क्षेत्रमा उच्च शिक्षा अध्ययनमा कुल भर्ना अनुपातमा निकै कम भएको नेपाल जस्तो मुलुकमा एक नयाँ आयाम थपिने विश्वास लिइएको छ ।
अपग्राडका प्रमुख कार्यकारी अधिकृत मोहनका अनुसार दक्षिण एशियाका युवाहरुका रोजगारीमूलक सीप तथा ज्ञानको कमीलाई दृष्टिगत गरी औद्योगिक आवश्यकता पूर्ति गर्न समय सापेक्ष ज्ञान र सीप निःसृत जनशक्ति तयार गर्ने अपग्राडको रणनीति रहेको छ ।
साथै नेपालका दुर्गम क्षेत्रमा रहेका प्रतिभालाई आफ्नै घर–आँगनमा बसी ज्ञान र सीप आर्जन गर्न सकिने प्रविधिको आगमनले हालको विश्वव्यापी महाव्याधीको समयमा पनि अध्ययनका लागि घरबाट टाढा–टाढा जानुपर्ने चिन्ता हटेको उनले बताए।
सोही सन्दर्भमा मेन्टरल्यावका अध्यक्ष दवाडीले भारतको अग्रणी अनलाइन शैक्षिक सँस्था अपग्राडसँग सहकार्य गर्न पाउनु मेन्टरल्यावका लागि खुशीको कुरा भएको बताउँदै यसबाट नेपालका प्रशिक्षार्थीहरू समयानुकूल अत्याधुनिक उत्कृष्ट शैक्षिक प्रणालीमा अध्यावधिक हुने जानकारी दिए। फलतः मेन्टरल्यावले नेपाली शिक्षा प्रणालीले सम्बोधन गर्न नसकेका ज्ञान र सीपलाई घरदैलोमा पु¥याई उद्योग र अर्थतन्त्रको विकासोन्मुख जनशक्ति तयार गर्न उल्लेखनीय योगदान गर्नेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा श्रेष्ठतम विश्वविद्यालयको सहकार्यमा तयार गरिएका व्यवस्थापन, सूचनाप्रविधि एवम् कानूनका विभिन्न पाठ्यक्रमहरू उपलब्ध गराउन अपग्राड अग्रपंक्तिमा रहिआएको छ ।
उद्योगको आवश्यकतालाई पूर्ति गर्न सफल यी कार्यक्रमहरू नयाँ प्रशिक्षार्थीहरूका साथै केहि वर्षको अनुभव सहितका पेशागत व्यवसायीहरूलाई समेत आफ्नो ज्ञान र सीपको स्तरोन्नति गरी वृत्ति विकासमा अत्यन्त उपयोगी सिद्ध हुनेछन् ।
यिनै परिकल्पना सहित अपग्राड भारत लगायत अन्य देशमा पनि अनलाइन शिक्षामा आमूल परिवर्तनको लागि अग्रणी भूमिकामा निरन्तरता दिंदै आएको छ ।