काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्।
पौडेल निकट स्रोतका अनुसार शुक्रबार बानेश्वरस्थित एक घरमा उनीहरूले पौडेललाई बोलाएर छलफल गरेका हुन्।
छलफलका क्रममा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका आगामी कदमका बारेमा अनभिज्ञ रहेकोले कांग्रेसको भूमिका कस्तो हुन्छ भन्दै पौडेललाई सोधेका थिए।
स्राेतका अनुसार दाहाल-नेपालले ओलीका सम्भावित कदमबारे आफूहरू अनभिज्ञ रहे पनि झुक्ने पक्षमा भने नरहेको पौडेललाई सुनाएका थिए।
उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकासमेत शंकास्पद रहेको पौडेललाई बताएका थिए।
स्रोतका अनुसार पौडेल दाहाल-नेपालको कुरा सुनेर फर्किएका छन्।