काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम शुक्रबार पेरिसडाँडामा आयोजित प्रदेश १ को भेलामा सहभागी भएनन्। त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत देखिएनन्।
पछिल्लो समय नेकपाभित्रको शक्ति संघर्ष चुलिएका बेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको एउटा समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अर्को समूह बनेको छ।
दाहाल–नेपाल समूहमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।
गौतम पेरिसडाँडाको भेलामा सहभागी नभएपछि उनको सचिवालयले सहभागी नहुनुको कारण प्रष्ट पारेको छ।
उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि भेलामा नजाने बताएको उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए।
‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु,’ गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले फेसबुकमा लेखेका छन्, ‘अहिले भेला गर्ने बेला होइन। बैठकबाट सबै समस्याको हल खोज्ने समय हो।’