काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन आग्रह गरेका छन्।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिको गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउन दुई दिने बिदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका हुन्।
पर्यटन क्षेत्रमा कोरोना महामारीले सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै भट्टराईले पर्यटन क्षेत्र उकास्न आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन आग्रह गरे।
‘खोप लाए पनि एकाध वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आउने अवस्था छैन,’ उनले भने ‘त्यसैलै अबको समय आन्तरिक पर्यटनको हो।’
महामारीका कारण लामो समय घरभित्रै बसेकोले ‘रिफ्रेस’ हुन पनि घुमघाम आवश्यक भएको उनले बताए।