काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भन्दै खरिद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ठहर गरेको छ।
‘सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको प्रतिवेदनका आधारमा पनि यो खरिद प्रक्रियामा अनियमितता पुष्टि भएको छ,’ समितिका सचिव डा. रोजनाथ पाण्डेले भने।
समितिको आजको बैठकले खरिद प्रक्रियामा अनियमितता गर्ने काममा को–को दोषी छन् भन्ने थप छानबिन गरेर कानुनी कारबाहीका लागि अख्तियारलाई लेखी पठाउने निर्णय पनि गरेको छ।
समितिले पत्राचार गरेपछि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्नका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्ने भएको छ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको निष्कर्ष समितिले सर्वसम्मत रूपमा निकालेको हो।
शुक्रबार समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए। उनले बैठकमा आफूले निष्ठापूर्वक कोभिडको सम्बोधन गर्नका लागि काम गरेको जवाफ दिएका थिए।
उनले ओम्नी समूहलाई राज्यकोषबाट कुनै रकम भुक्तानी नगरिएको र धरौटी पनि जफत गरेर राज्यकोषमा दाखिला गरिएको स्पष्टीकरण दिएका थिए।
‘मेरो तर्फबाट कुनै कमजोरी भएको छैन। जुन पदाधिकारीको जिम्मामा खरिद प्रक्रिया सञ्चालन गर्ने हो उहाँहरुले अनियमितता गरेको हो भने छानबिनमा कुनै आपत्ति छैन,’ मन्त्री ढकाललाई उधृत गर्दै पाण्डेले भने।
गत १२ चैतमा सरकारले ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो। तर, ओम्नीले पहिलो लटमा ल्याएका सामानहरु कमसल रहेको र मूल्य पनि धेरै राखिएको भन्दै चौतर्फी विरोध भएको थियो।
विरोधका कारण स्वास्थ्य विभागले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो। त्यसपछि स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।