काठमाडौं– सत्तारुढ दल नेकपाभित्र चर्किएको विवाद साम्य हुने कुनै छाँट देखिएको छैन। अध्यक्ष केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहले गुटगत छलफल र भेला गरिरहेका छन्।
यसै क्रममा आज शुक्रबार दाहाल पक्षले पार्टी कार्यालय पेरिसडाँडामा दाहाल समूहले प्रदेश नम्बर १ को भेला गरेको छ।
भेलापछि नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले हालै जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल भएको बताए। यो विषय नेकपाको मात्र नभएर सबै दलको सरोकारको विषय भएको उनको भनाइ थियो।
‘चाँडै स्थायी कमिटी बैठक बस्ने भएकोले त्यहाँ पनि छलफल हुन्छ नै। सर्वसत्तावादविरुद्ध डटेर लड्ने नै हो,’ भेलामा अध्यक्ष दाहालले समसामयिक परिस्थितिबारे सैद्धान्तिक व्याख्या गरेका थिए।
‘हामीले विधि, पद्धति सच्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका थियौं। प्रधानमन्त्रीले अनेक आरोप लगाउनुभयो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै खतिवडाले भने।
दाहालले भनेको कुरा सत्य भएको तर ओलीले आरोपमात्र लगाएको खतिवडाको तर्क छ।
भेलामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि बोलेका थिए। पार्टी विभिाजित हुन पनि नदिने र गलत प्रवृत्ति हावी हुन पनि नदिने निष्कर्ष भेलाले निकालेको केन्द्रीय सदस्य खतिवडाले बताए। आफूहरुले कुनै गुटबन्दी नगरेको दाबी गर्दै उनले विधान उल्लंघन गर्नेले गुटबन्दी गरेको आरोप लगाए।
पार्टी वरिष्ठ नेता खनालले संक्षिप्त प्रतिक्रिया दिँदै विवादित अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरे।