काठमाडौं– नेपाली कांग्रेसले किसानको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ
कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले बिहीबार विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गरेका हुन्।
उनले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौंको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गरेका छन्।
उखु किसानले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्।