काठमाडौं– स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंका गर्दै छानबिन गरिरहेको संघीय संसद् सार्वजनिक लेखा समितिले शुक्रबार स्वास्थ्यमन्त्रीलाई बोलाएको छ।
दिउँसो १ बजे बस्ने समितिको बैठकमा छलफलका लागि स्वास्थ्य, जनसंख्या तथा वातावरणमन्त्री भानुभक्त ढकाललाई बोलाइएको समितिका सभापति भरत शाहले जानकारी दिए।
समितिको आज बिहीबार बसेको बैठकले उनलाई छलफलका लागि बोलाउने निर्णय गरेको थियो।
खरिद प्रकरणको छानबिन गरिरहेको समितिले मन्त्रीसँग यसअघि पटक–पटक छलफल गर्न खोजेको थियो। तर, मन्त्री ढकाल बैठकमा उपस्थित हुन मानिरहेका थिएनन्। शुक्रबार भने मन्त्री ढकालको समय मिलाएर नै बैठकमा छलफल गर्न लागिएको हो।
समितिले यसअघि स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखसँग सोधपुक्ष गरिसकेको छ।