भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोड नजिक पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
२४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३५५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार ५४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ। गत सोमबारसम्म यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको थियो।
मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित छन्।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ७८ लाख ५ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन्।