धनगढी– दार्चुलाबाट व्यवसाय गर्ने उद्देश्यले तराई झरेका शंकर बिष्ट काम गर्ने वातावरण नमिलेपछि वैदेशिक रोजगारीका लागि दुबई उडे। त्यहाँ सोचेजस्तो काम पाएनन्। तीन महिनामा स्वदेश फर्किए।
विदेशमा काम गर्न नसकेर गाउँ फर्कियाे भनेर समाजमा कुरा काट्नेकाे कमी थिएन। यही बीचमा उनले स्वदेशमै केही गर्ने अठाेट गरे। अनि उनले कैलालीको कैलारी गाउँपालिका-५ पवेरा गाउँमा व्यावसायिक घाँस खेती सुरु गरे।
पशु तथा मत्स्य विकास निर्देशनालय डोटीले बिउ खरिदका लागि ३५ हजार रुपैयाँ दियाे। चितवनबाट बिउ लगरे ०७५ भदौमा उनले घाँस राेपे। पाँच कट्ठाबाट सुरु गरेका शंकरले अहिले सात बिघामा घाँस खेती गरिरहेका छन्।
उनकाे फार्ममा सुपरनेपियर, सुम्बा सेटेरिया, पासपालम, किम्बु, भटमासेलगायत प्रजातिका घाँस बाह्रै महिना उत्पादन हुन्छ। साथै उनले यी प्रजातिकाे बिउ पनि उत्पादन गरिरहेका छन्। हिउँदे, वर्षे, बहुवर्षीयलगायत धेरै थरीका बिउ र बेर्ना सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बिक्री गर्दै आएकाे उनी सुनाउँछन्।
भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरबाट ३२ हजार बढी मूल्य पर्ने घाँस टुक्र्याउने च्याप कटरले घाँस खेतीमा थप सहयोग भएकाे छ।
यस वर्ष उनले घाँस बिक्रीबाट १३ लाख रुपैयाँ बचत गरे। ‘घाँस खेतीबाट सोचेभन्दा राम्रो आम्दानी भएको छ,’ उनकी पत्नी सुशीलाले भनिन्, ‘२० लाख रुपैयाको घाँस बेचें, खर्च कटाएर १३ लाख रुपैयाँ नाफा भयो।’
पत्नी सुशीला बिष्टका नाममा बन्दुली एकीकृत कृषि फार्म दर्ता गरेका शंकर भने व्यवस्थापकको भूमिकामा छन्। शंकर दम्पतीले बाख्रा पालन, फूल खेती, लोकल कुखुरा पालन, गड्यौला पालनसमेत गरिरहेकाे छ।
दसैंतिहारमा फूल बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेकाे शंकरले जानकारी दिए। उनले तीन कठ्ठामा सयपत्री फूल लगाएका थिए। उनले भने, ‘दीपावलीमा तीन सय ५० रुपैयाँ किलोका दरले साढे तीन क्विन्टल फूल बिक्री भएको थियो।’ उनकाे बारीकाे फूल कैलालीको धनगढी, टीकापुर र नेपालगन्जसमसम्म बिक्री भएकाे थियाे।
यस्तै उनले कम्पोस्ट मल उत्पादनका लागि गड्यौला पालन गरेका छन्। यसका लागि कृषि विकास निर्देशनालय डोटीले एक लाख ८५ हजार रुपैयाँ अनुदान दियाे। शंकरले त्याे पैसा मल उत्पादनका लागि संरचना बनाउन खर्च गरे। पहिलाे चरणमा १० क्विन्टल मल उत्पादन भएको उनले जानकारी दिए।
अहिले उनीसँग सानाठूला गरेर ३८ वटा बाख्रा छन्। यस्तै १५ वटा भैंसी पाल्न सकिने क्षमताको गोठमा अहिले पाँच वटा भैंसी छन्। शंकरकाे फार्ममा एक सय लोकल कुखुरा छन् भने आठ घार मौरी छन्।
उनले भने, ‘केही गर्न भनेर तराई झरेँ, दुबई पुगें, केही भएन। लगाव भए आफ्नै माटोमा मनग्ये आम्दानी रहेछ।’