काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
सरकार असफल भएको र गणतन्त्रको औचित्स समाप्त हुँदै गएको दाबी सहित राप्रपाले चरणबद्ध रुपमा आन्दोलन गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकले पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय राप्रपाले गरेको छ ।
पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने राप्रपाको घोषण छ ।
पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सन्चालन हुने राप्रपाले जनाएको छ । तर दोस्रो चरणको कार्यक्रमको स्वरुप भने उसले सार्वजनिक गरेको छैन ।
सरकार भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा असफल भएको राप्रपाको निष्कर्ष छ ।