मंगलबार, भदौ २३, २०८३

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

म्याग्दी- दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । 

बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जापानमा रहेका भाइ, छोरो र बुहारीबाट मासिक रु १२ लाखभन्दा बढी थापाको हातमा पर्छ तर, थापालाई भाइ र छोरा बुहारीले विदेशमा कमाएर पठाएको मासिक रु १२ लाखले ऐयासी र घमण्डी बनाएन ।

बरु उनीहरुले विदेशमा दुःख गरेर पठाएको पैसा बचत गरिदिने र घरखर्चलगायत आफ्नो व्यावहारिक जीवन चलाउन आफ्नै माटोमा पौरख गर्ने जाँगर सिकायो । त्योभन्दा पनि बढी थापाकै देखासिकीमा गाउँका युवाले सानालेखमा तरकारी फलाऊँ अभियान चलाएर आफैँ स्वावलम्बी बनेर गाउँको मुहार नै फेर्न सफल भए ।

थापाले दुई वर्षअघि रहरैरहरले शुरु गरेको बेमौसमी तरकारी खेतीले अहिले उहाँलाई व्यावसायिक मात्रै बनाएन सरल स्वभावका पौरखी ‘अर्गानिक’ कृषकको परिचय पनि दियो ।

थापाले सानालेखको आफ्नो घर नजिकै रहेको सात रोपनी बारीमा विभिन्न थरिका बेमौसमी तरकारी खेती गरेका छन् । अठार वर्ष विदेशमा बसेर आफैँ पनि प्रशस्त पैसा कमाएका थापाले दुई वर्षअघि रहरैरहरमा गरेको तरकारी खेतीबाट अहिले वार्षिक रु तीन लाखभन्दा बढी कमाइ गर्दै आएका छन् । 

उनको बारीमा अहिले काउली, बन्दा, खुर्सानी, धनियाँ, गोलभेँडा, रायो सागलगायतका बेमौसमी तरकारी लटरम्मै फलेका छन् ।

“मैले दुई वर्षअघि तीन रोपनी जग्गामा बेमौसमी तरकारी खेती शुरु गरेको हुँ”, थापाले भने, “अरुको देखेर रहरैरहरले शुरु गरेको तरकारी खेतीले अहिले मलाई व्यावसायिक बनायो, आम्दानी पनि राम्रै हुन थालेको छ ।” 

थापालाई अहिले तरकारी खेतीबाट भएको आम्दानीमा नै रस बस्न थालेको छ । थापाकै देखासिकी गरेर गाउँका १० युवाले पनि व्यावसायिक तरकारी खेतीको शुरुआत गरेका छन् । थापालाई यसैमा आत्मसन्तुष्टि मिलेको छ । 

थापा भन्छन्, “मैले गरेको बेमौसमी तरकारी खेती देखेर गाउँका अरु भाइहरुले पनि शुरु गरेका छन् । उनीहरुले पनि राम्रो कमाइ गरिरहेका छन् । मलाई सबैभन्दा धेरै खुशी यसैमा लागेको छ ।”

दुई वर्ष अघिसम्म करेला, स्कुस, सिमीलगायतका परम्परागत रैथाने तरकारीबाहेक अरु तरकारी खान मनलागे बजारबाट किनेर ल्याउनुपर्ने बाध्यतामा रहेका सानालेखवासीका बारीमा अहिले विभिन्न किसिमका बेमौसमी तरकारी लटरम्मै झुलेका छन् । 

स्थानीय हरिप्रसाद शर्मा भन्छन्, “अहिले त गाउँको रौनक नै फेरिएको छ, रहरैरहरमा धु्रवजीले गरेको तरकारी खेतीले गाउँलेलाई गर्न जानेपछि हुँदो रैछ त भन्ने बनाएको छ । अहिले हाम्रो गाउँ बेमौसमी तरकारी खेतीको ‘हब’ नै बनेको छ ।”

सानालेखका हरि शर्मा, महेन्द्र थापा, नारायण शर्मालगायतका १० युवाले अहिले व्यावसायिक तरकारी खेती शुरु गरेका छन् । उनीहरुले तरकारी बेचेर एक सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । –रासस

प्रकाशित: Dec 17, 2020| 03:37 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।