एजेन्सी- भारतमा गत २१ दिनदेखि किसान आन्दोलन जारी छ। दिल्लीको सीमामा धर्ना दिइरहेको समूहमा सहभागी ६५ वर्षीय सन्त बाबा राम सिंहले आफैंलाई गोली प्रहार गरेका छन्। किसानको आन्दोलनको समर्थनमा आफैंलाई गोली हानेका उनको निधन भएको छ।
भारतीय पत्रिका आउटलूक इन्डियाका अनुसार उनी गुरुद्वारा साहेब नानकसरका सन्त थिए। उनका अनुयायीहरु लाखौंको संख्यामा रहेको बताइएको छ।
रामसिंहको मृत्युमा दुख व्यक्त गर्दै विपक्षी नेता राहुल गान्धीले भनेका छन्, ‘मोदी सरकारले क्रुरताको सबै हद नाघिसक्यो ।’
भारत सरकारले कृषि सम्बन्धी तीन नयाँ कानुन ल्याएपछि त्यसबाट परम्परागत कृषि बजार भताभुङ्ग हुने, उक्त कानुनले कृषिमा कर्पोरेट क्षेत्र हावी हुने तर, वास्तविक किसानले उपजको न्यूनतम मूल्य पाउने अवस्था समेत नरहने भन्दै किसानहरुले आन्दोलन गरिरहेका छन्।
सञ्चारमाध्यमहरुका अनुसार राम सिंहले आफूलाई गोली हान्नु अघि लेखेको नोटमा उनले किसानहरुको दुख हेरिरहन नसकेको, आफ्नो हकका लागि सडकमा उत्रिएका किसानलाई सरकारले न्याय नदिई दमन गरेको र दमन सहनु पनि पाप नै भएको उल्लेख गरेका छन्।
द इन्डियन एक्सप्रेसका अनुसार आन्दोलनका २१ दिनमा कम्तिमा पनि २० जना किसानको मृत्यु भइसकेको छ।
आन्दोलनमा वयोवृद्ध किसानहरु पनि सडक धर्नामा बसेका कारण विभिन्न स्वास्थ्य समस्याले गर्दा उनीहरुको मृत्यु भएको र केही किसानहरुको दुर्घटनामा परेर मृत्यु भएको समाचारमा उल्लेख छ।
यसबीच सरकार र आन्दोलनकारी किसानबीच विभिन्न चरणमा भएका वार्ता सफल हुन सकेका छैनन्। आन्दोलनकारी कानुन फिर्ता हुनुपर्ने मागमा छन् भने सरकारले कानुनमा संसोधनसम्म गर्न सकिने भनिरहेको छ।