काठमाडौं- कोरोनाको महामारीका कारण करिब ९ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।
हिजो (मंगलबार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट क्षमापूजा गरेर आजबाट मन्दिर खोलिएको हो । प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ खुलेसँगै बिहानैदेखि भक्तजनहरुको आवतजावत बाक्लिएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ ।
मन्दिरमा पुजा गर्न आउने भक्तजनले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम बनाइएको छ । भौतिक दूरी कायम राख्दै मास्क लगाएर मात्रै मन्दिर हाताभित्र प्रवेश गर्न दिइने कोषले जनाएको छ।
मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।