काठमाडौं- आन्तरिक विवादमा फसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीमा छलफल नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको विषयमा छलफल हुने भएको छ।
बहुमत स्थायी कमिटी सदस्यले अध्यादेशको फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।
उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन । बरिष्ठ नेता झलनाथ खनालले आजको बैठकले ठोस निर्णय लिने जानकारी दिए ।
उनले नेपाल समयसँग भने- 'पार्टीसँग छलफल नै नगरी अध्यादेश ल्याउने र आफूलाई मनलाग्दी गर्ने छुट कसैसँग छैन् । यसका विषयमा आज वारपारको निर्णय हुन्छ ।'
प्रधानमन्त्री ओलीले पटक पटक स्वेच्छाचारी शैली देखाएको र पार्टीलाई माइनस गरेर अघि बढ्न खोजेकाले यो विषय गम्भीरताका साथ बैठकमा उठ्ने उनले जानकारी दिए ।
यस्तै आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने नेताहरु बताएका छन् । दुई अध्यक्षले एकले अर्कोलाई संगिन आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए ।
कात्तिक २८ गतेको सचिलायल बैठकमा दाहालले ओली स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका एक दर्जन बढी आरोप सहितको प्रतिवेदन पेश गरेका थिए भने मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले त्यसको जवाफ र प्रत्यारोपसहितको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन स्थायी कमिटीमा पनि पेश भएको छ ।
दुई अध्यक्षको आरोप प्रत्यारोपसहितको प्रतिवेदनका कारण विभाजनको संघारमा पुगेको नेकपा प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगबाट अध्यादेश ल्याएपछि थप तरंगित भएको छ ।