काठमाडौं- नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नभई आएको अध्यादेशप्रति आपत्ति जनाएका छन्।
‘अध्यादेशबारे पार्टीका कुनै पनि कमिटीलाई जानकारी छैन, अर्का अध्यक्ष तथा नेताहरू कसैलाई थाहा छैन,’ उनले भने, ‘यसलाई पार्टीले गम्भीररूपमा लिएको छ।’
यस विषयमा भोलि (बुधबार) बस्ने स्थायी कमिटीले आवश्यक निर्णय गर्ने उनको भनाइ छ।
‘लोकतन्त्रको मर्म र भावना तथा पार्टीलाई समेत कुल्चिने ढंगले गुप्तरूपबाट अध्यादेश आएको छ,’ उनी भन्छन्, ‘यसलाई जटिलतापूर्वक लिएका छौं।’
अध्यक्षसहित तीनजना मात्रै उपस्थित भए पनि संवैधानिक परिषद् बैठकको गणपूरक संख्या पुग्ने गरेर आज सरकारले अध्यादेश ल्याएको थियो।
बिना कुनै छलफल प्रधानमन्त्रीको एकल निर्णयमा अध्यादेश ल्याइएको भन्दै नेकपाका नेता कार्यकर्ताले आपत्ति जनाएका छन्।