काठमाडौं– सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश प्रकरणले तरंग ल्याए पनि यसकै कारण पार्टीमा समस्या आउन नदिइने बताएका छन्।
अध्यादेश प्रकरणलगत्तै दाहाललाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँगको छलफलमा उनले सो कुरा बताएका हुन्।
‘यो बेलामा अध्यादेश नल्याएको भए हुन्थ्यो, प्रधानमन्त्रीजीले गलत कदम चाल्नुभयो,’ दाहाललाई उधृत गर्दै नेम्बाङले भने।
नेम्बाङले संवैधानिक परिषद्को बैठक बस्न नसकिरहेको बेला केही अप्ठ्यारालाई मार्ग प्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएको हुन सक्ने बताए। यद्यपि नेम्बाङले यसबारे आफूलाई थप जानकारी नभएको प्रतिक्रिया दिए।
‘दुवै अध्यक्षले छलफल गरेर केही समस्या छन् भने सुल्झाउने काम गर्नुस् भनेर मैले सल्लाह दिएँ’, नेम्बाङले भने।
दाहालले पार्टीभित्र देखिएको विवादका बारेमा आफू सकारात्मक रहेको र छलफल गरेर टुंग्याउनुपर्ने पक्षमा रहेको बताए।