काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन्।
मंगलबार साँझका लागि बोलाइएको बैठकअघि सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि देउवा रुष्ट बनेका हुन्।
‘अध्यादेश ल्याइसकेपछिको अवस्थालाई विश्लेषण गरेर सभापति ज्यू बैठकमा नजाने निर्णयमा पुग्नुभएको छ,’ देउवाका सहयोगी भानु देउवाले भने।
मंगलबार बिहान मात्रै बैठकमा भाग लिन देउवा बालुवाटार पुगेका थिए। तर, सभामुख अग्नि सापकोटा बैठकमा उपस्थित नभएपछि कोरम नपुग्दा बैठक स्थगित भएको थियो।
बैठक स्थगित भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेपछि कांग्रेसले सर्वसत्तावादी कदम भएको टिप्पणी गरेको छ।