काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी भएको प्रतिक्रिया दिएको छ।
प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यको उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशलाई कांग्रेसले सर्वसत्तावादी र अधिनायकवादी कामको संज्ञा दिएको हो।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले अध्यादेश ल्याएर सरकारले संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण गरेको बताए। ‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो,’ निधिले भने, ‘संविधान र प्रणालीमाथिको आक्रमण हो। म यसको घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन।’
संवैधानिक परिषद्को बैठक आजै साँझ बोलाइएको छ। दिँउसो हठातमा अध्यादेश जारी गरिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा नजाने भएका छन्।